१० बैशाख, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१ स्थित सूर्य सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकलाई बाल यौन दुरुपयोगको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति चैनपुर नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल खाँदबारी नगरपालिका वडा नं. १ बसोबास गर्दै आएका ३१ वर्षीय बिवेक खत्री हुन्।
२०७८ साल वैशाख ७ गते बिहान १ बजेतिर विद्यालयकै छात्रावासमा अध्ययनरत एक नाबालिका छात्रालाई आफ्नो कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको पीडितको जाहेरीको आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिए।
उनका अनुसार प्रतिवादी खत्रीमाथि संखुवासभा जिल्ला अदालत, चैनपुरबाट पाँच दिनको म्याद थप गरी हाल बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य अघि बढाइएको छ।
प्रहरी प्रवक्ता लामिछानेले बालबालिकाको सुरक्षा सम्बन्धमा चनाखो रहन अभिभावक, विद्यालय र समाजको समुचित भूमिका आवश्यक रहेको पनि बताए।









