काठमाडौं,२८ चैत । घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गराउने मूख्य योजनाकार लक्ष्मी राई र रमेश सिलवाल अझै सम्म पनि कानुनी दायरा बाहीर छन् ।
धरान उपमहानगरपालिका–१३ की ५० वर्षीया लक्ष्मी राई र धादिङको ज्वालामुखी गाउँपालिका–४ का रमेश सिलवालको योजनमा विक्रममाथि गएको कात्तिकमा लाजिम्पाटमा आक्रमण भएको थियो । आक्रमणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेपनि योजनाकार राई र सिलवाल भने अझैसम्म पनि फरार छन् ।
विक्रमलाई सुपारी लिएर आक्रमण गर्ने समूहका मुख्य नाइके अजय लामा पुर्पक्षका लागि थुनामा गएका छन् । नुवाकोटको ककनी–४ का ३३ वर्षीय लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको लामो समयपछि पक्राउ गरेको थियो ।
अजयसँगै निश्चल सुनार र नुवाकोटको बेलकोटगढी नगरपालिकाका मार्सल भन्ने शैलेन्द्र तामाङसमेत पुर्पक्षका लागि थुनामा छन् । आक्रमणमा संलग्न एक जना गोरखाका दिपक बरामुलाई भने जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्ने आदेश गरेको थियो ।
विक्रमाथि लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । उनी लामो समयको उपचारपछि घर फर्किएका थिए । पक्राउ परेका अजयले अफूले लक्ष्मी र रमेश सिलवालको योजनामा विक्रममाथि आक्रमण गरेको बयान दिएका थिए । तर, लक्ष्मी र रमेश दुबैले देश छाडेका कारण पक्राउ पर्नबाट जोगिएका थिए । उनीहरुदुबै जनालाई प्रहरीले प्रतिवादी बनाएको छ ।
प्रहरी अधिकारीका अनुसार लक्ष्मीले बेलायतमै न्यु लक्ष्मी ज्वेलर्स समेत सञ्चालन गरेकीछिन् । उनी घटना लगत्तै रमेशलाई समेत साथमै लिएर बेलायत पुगेकी थिइन् । तर, पछिल्लो समय भने लक्ष्मी बेलायतबाट दुबई पुगेको खुलेको छ । उनी दुबईमा विभिन्न ठाउँघुमफिर र मदिरा पिउँदै गरेको भिडियोसमेत बाह्रखरीले फेला पारेको छ ।
नेपाल फर्किदा भने पक्राउपर्ने डरले उनी आउन नसकेको प्रहरीको भनाई छ । प्रहरी प्रधान कार्यालयले प्रहरीको अन्तराष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत पक्राउको प्रक्रियामा ढिलाई गर्दा उनी विभिन्न ठाउँ निर्वाध रुपमा घुमफिरमा सक्रिय देखिएकी हुन् ।
उसो त लक्ष्मीसित बेलायती पासपार्ट रहेको र ट्राभल बेलायती पासपोर्ट मार्फत गर्नेहुदा इन्टरपोल मार्फत पक्राउ गर्न पनि असहज हुने प्रहरी अधिकारीको भनाइ छ ।
Facebook Comments Box









