असार २४ ललितपुर । सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको लायन्स क्लब अफ ललितपुर युनिफाईड नेसनले महालक्ष्मी नगरपालिका–९, लामाटार, ललितपुरमा अवस्थित ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्पेट हस्तान्तरण तथा दिवा भोजन सेवा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
वि.सं. २०७२ सालमा भोजपुरे दाँवालीहरूको अगुवाइमा स्थापित यो सेवा केन्द्रमा आयोजित कार्यक्रम योगा हल तथा भजन–कीर्तन कक्षमा सम्पन्न भएको हो। कार्यक्रममा ३५ देखि ४० जना ज्येष्ठ नागरिक तथा अगुवाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजकत्व क्लबका प्रथम उपाध्यक्ष लायन सुमन घिमिरेले गर्नु भएको थियो। साथै कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष लायन खेम राज अधिकारी, निवर्तमान अध्यक्ष लायन राम पण्डित, कोषाध्यक्ष लायन ध्रुव बर्तौला, तथा अन्य सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालन संस्थाका संचालक माधब चन्द ले गर्नु भएको थियो। उहाँले सेवा केन्द्रको स्थापना, उद्देश्य तथा समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मान र सेवाको आवश्यकता सम्बन्धमा मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै लायन खेम राज अधिकारीले आगामी दिनहरूमा पनि यस्ता सेवा–कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै, “ज्येष्ठ नागरिकप्रति स्नेह, आदर र सहयोग हाम्रो प्रमुख दायित्व हो,” भन्नुभयो। साथै, सेवा केन्द्रसम्म पुग्ने बाटोमा पर्ने पुल निर्माण सम्बन्धी जानकारी दिँदै, वडा अध्यक्ष ज्युले आगामी भदौ महिनासम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको कुरा पनि जानकारी गराउनु भयो।
कार्यक्रमपछि सहभागी ज्येष्ठ नागरिकहरूलाई दिवा खाजा (भोजन सेवा) प्रदान गरिएको थियो। सहभागीहरूको अनुहारमा खुसी र कृतज्ञता झल्किएको थियो।
कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति लायन्स क्लबको गहिरो प्रतिबद्धता पुनः पुष्टि गरेको आयोजकहरूले बताएका छन्।










