काठमाडौं, २४ असार — पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (इभी) को चर्चा जताततै सुनिन थालेको छ। प्रदूषण घटाउने र पेट्रोलियम इन्धनमा निर्भरता कम गर्ने उद्देश्यले सरकारले पनि इभीलाई प्राथमिकता दिएको बताइन्छ। तर धेरैलाई थाहा नहुन सक्छ, नेपालमा इभी नयाँ कुरा होइन।
५०–५५ वर्षअघि नै नेपालले काठमाडौँमा ‘इलेक्ट्रिक बस’ सञ्चालन गरेर विद्युतीय सवारीको यात्रा थालिसकेको थियो। पुरानो पुस्ताका नागरिकहरू सम्झन्छन्, ती दिनहरूमा सडकमा गुड्ने ‘इबी’ ले धेरैलाई यात्रा सहज बनाएको थियो। कतिपयले अहिलेको नयाँ इभी चढ्नुअघि ती पुराना बसहरू चढिसकेका थिए।
सामाजिक सञ्जालमा कतिपयले भन्दै आएका छन् — “देश नबनेको होइन, बिगारिएको हो।” सरकारी योजना, दिगो नीतिको कमी र व्यवस्थापन पक्ष कमजोर हुँदा नेपालले सुरुमा अघि बढाएको इभी प्रयास केही दशकमै बन्द भयो। अहिले फेरि नयाँ जस्तो गरी इभीको चर्चा चलिरहेका बेला पुराना अनुभवबाट सिकेर दीर्घकालीन योजना बनाउन विज्ञहरू सुझाउँछन्।
विशेषज्ञहरू भन्छन्, “नेपालजस्तो हावापानी अनुकूल देशमा विद्युतीय सवारी साधन दीर्घकालीन रूपमा सफल हुन सक्छन्। तर यसको लागि प्रविधि मात्रै होइन, दिगो योजना र व्यवस्थापन पनि उत्तिकै जरुरी छ।”
स्रोत : खेम राज अधिकारी









