- स्तम्भन्युज

— खेम राज अधिकारी
स्तम्भन्युज खबर
३० कार्तिक, काठमाडौं। नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार (कात्तिक ३०) साँझ ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा पक्राउ गरेको हो।
सीआईबीका अनुसार काठमाडौं महानगरपालिका–१, दरबारमार्ग स्थित नेपाल ट्रस्टको नाममा दर्ता रहेको जग्गा लिजमा दिने प्रक्रियामा बदनियत देखिएपछि अनुसन्धान सुरु गरिएको थियो। नेपाल ट्रस्ट र थामशेर्कु ट्रेकिङ प्रा लि बिचको लिज सम्झौतामा अनियमितता रहेको आशंकामा सीआईबीले निगरानी बढाएको थियो।
अनुसन्धानका क्रममा पूर्वसचिव कार्कीको समेत संलग्नता देखिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। ट्रस्टको कित्ता नम्बर ४६०६ मात्र लिजमा दिनुपर्ने ठाउँमा थप कित्ता नम्बर ४६०५ समेत समावेश गरी लिजमा दिएको आरोप कार्की माथि लागेको छ।
सीआईबीले यस सम्बन्धमा आवश्यक कानुनी कारबाही अघि बढाएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।









