काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार अर्थात् जुलाई ६, २०२४ तदनुसार २०८१ असार १४ गते बागबजारस्थित हार्दिक होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राजमो अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा उहाँले नै अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम राजमो उपाध्यक्ष तथा दुर्गा पौडेलको अध्यक्षता, महासचिव मनोज मनोज भट्टको सञ्चालन र राजमो नेता आनन्द शर्माको स्वागत मन्तव्यसँगै सुरु भएको थियो ।

शक्तिराष्ट्रको एजेन्डा बोक्छन् दलहरू : अध्यक्ष केसी
कार्यक्रममा मन्तव्य राख्दै राजमो अध्यक्ष केसीले नेपालमा सत्तारूढ राजनीतिक दलहरूले शक्तिराष्ट्रको एजेन्डा बोक्ने तथा भ्रष्टाचारको नेतृत्व गर्ने गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस खालका दलहरू सत्तामा पुग्दा नेपाली जनताको भलो नहुने पनि ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो– शक्तिराष्ट्रको एजेन्डा बोक्ने र भ्रष्टाचारको नेतृत्वहरूले देशको भलो कहिल्यै गर्दैनन् ।’

उहाँले देश र जनताको चिन्ता गर्ने नभएर खालि आफ्नो चिन्ता गर्ने भएकैले १८ महिनामा चारपटक सरकार परिवर्तन हुने गरेको बताउनुभयो ।
मन्तव्यको क्रममा आफू सहकारी मन्त्री हुँदा सहकारी विकृति हटाउन साथ दिएकाले तत्कालीन उपसचिव बाबुराम भुसाललाई सरुवा गरेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘कथित सहकारी अभियन्ताहरूले देशमा सहकारी ठगीलाई मौलाउनमा मदत गरिरहेका छन् भन्ने यसबाट पनि बुझ्न सकिन्छ ।’
जनताले सही राजनीति बुझ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘जबसम्म जनताले सही राजनीति कुन हो भन्ने बुझ्दैनन्, तबसम्म देशको भलो हुन्न । देश उभो लाग्दैन ।’
सहकारी ठगलाई जोगाउने आशङ्का : पुरी
अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्र्रवक्ता रामप्रकाश पुरीले संसदीय समितिले सहकारी ठगलाई जोगाउने आशङ्का व्यक्त गर्नुभयो ।

राज्यका अङ्गले नै सहकारी ठगी मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाएको प्रसङ्ग उठाउँदै उहाँले यस्तो दावी गर्नुभएको हो ।
‘प्रधानमन्त्री, महान्यायाधीवक्ता, प्रहरी प्रमुखलगायतले गृहमन्त्रीलाई जोगाएको हामी सबैलाई थाहा छ’ उहाँले भन्नुभयो– ‘यस आधारमा अहिले बनेको संसदीय समितिले सहकारी ठगीको मामिलामा गृहमन्त्रीलाई जोगाउने आशङ्का व्यक्त गर्न सकिन्छ ।’
सहकारीलाई कम्युनिस्टहरूले आदर्श व्यवस्था मानेको धारणा उहाँले कार्यक्रममा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ॅकम्युनिस्टहरूले सहकारीको माध्यमबाट सुन्दर भविष्यको सपना देखेका हुन्छन् ।’
सम्बोधनको क्रममा प्रवक्ता पुरीले सरकारले जनताका रकम हिनामिना गर्ने जुनसुकै सहकारीका ठगलाई कारबाही गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
अध्यक्ष केसीलाई धन्यवाद : लेखक
कार्यक्रममा सम्बोधन गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले राजमो अध्यक्ष केसीले संसद्मा सहकारीको रकम अपचलनको विषय लगातार उठाउनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

;हामीले पनि सहकारी अपचलनको विरुद्ध सदनमा लगातार आवाज उठायौँ’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीमा ठगीको विषयलाई लगातार उठाउनुभएकोमा धन्यवाद दिन चाहान्छु ।’
उहाँले ठिक समयमा राजमो यो कार्यक्रमको आयोजना गरेकोमा पनि प्रशंसा गर्नुभयो ।
नेता लेखकले एकातिर सहकारीमा जम्मा गरिएको रकमको अपचलन र अर्कोतिर उक्त रकमको सुरक्षणका चिन्ता अहिले सहकारीको मुख्य समस्या भएको उहाँको दावी थियो ।
कुनै समय सहकारीको ठगीलाई बचाउन राज्यका अङ्ग नै परिचालन भएको प्रसङ्ग निकाल्दै उहाँले भन्नुभयो– ॅअबका सरकारले पक्कै पनि यस्तो गर्ने छैन भन्ने अपेक्षा व्यक्त गर्दछु ।’
वित्तीय एकाधिकारका कारणले सहकारी विकृति : गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव तथा पूर्व मन्त्री देव गुरुङले वित्तीय एकाधिकारका कारणले अहिले नेपालमा सरकारीमा विकृति देखा परेको धारणा व्यक्त गर्नुभयो ।

‘सामन्तवादको विरुद्धमा सहकारी अर्थतन्त्रको उदय प्रगतिशील कदम थियो’ उहाँले भन्नुभयो– ‘एकाधिकार पुँजीवादको क्रममा सहकारीमा विकृति भित्रिन थाल्यो ।’
नेता गुरुङले दलाल पुँजीवादले वित्तीय पुँजीवादसित साँठगाँठ गरेकाले देशमा यस्तो समस्या आएको बताउनुभयो ।
उहाँले सहकारीलाई उत्पादनतर्फ केन्द्रीकरण गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले आत्मनिर्भर अर्थतन्त्र र समाजवाद निर्माणको विषयलाई सहकारीसित जोड्नुभयो ।
‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण नगरिकन सहकारीको विकास सम्भव छैन’ उहाँले भन्नुभयो–’राज्यलाई सबलीकरण गर्दै समाजवादतर्फ जान सक्यौँ भने सहकारीलाई पनि व्यवस्थित गर्न सक्दछौँ ।’
सहकारी ठगी विरुद्ध निर्भीकतापूर्वक उभिनुपर्छ : डा रावल
डा. भीम रावलले सहकारी ठगीका विरुद्ध निर्भीकतापूर्वक उभिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले सरकारमा बसेकाले नै अरूलाई दोष दिने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो ।

‘सहकारी ठगीका विरुद्ध निर्भीकतापूर्वक उभिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘सरकारमा बसेकाले अरूलाई दोष दिएर सहकारी ठगलाई बचाउनुभएन ।’
उहाँले राजमो अध्यक्ष केसी सहकारी मन्त्री हुँदा आफूले पनि सहकारी विकृति न्यूनीकरण गर्न प्रयास गरेको स्मरणसमेत गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री जस्तो पद सुम्पिनेहरू पनि यस सम्बन्धमा मतियारा भएको टिप्पणी गर्नुभयो ।
‘सहकारीको रकम ठगीको आरोप लागेका व्यक्तिलाई जसले गृहमन्त्री जस्तो पद दिन्छन्, तिनीहरू पनि सहकारी ठगकै मतियारा हुन्’ उहाँले भन्नुभयो ।
उहाँले देशभक्तिपूर्ण भावनाका साथ सहकारी अपचलन तथा ठगी प्रकरणलाई नियन्त्रण गर्नुपर्ने पनि बताउनुभयो ।
सहकारी ठगीप्रति संवदनशील हुनुपर्यो : दाहाल
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्व अध्यक्ष काँशीराज दाहालले सहकारी ठगीप्रति कारबाही गर्ने सवालमा संवेदनशील हुन राज्य पक्षसित आग्रह गर्नुभयो ।
यस सम्बन्धमा उहाँले तीन प्रकारका काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘पहिलो कुरो अधिकारसम्पन्न सहकारी छानबिन आयोग गठन गरिनुपर्दछ । खालि रिपोर्ट दिने होइन, कार्यकारी अधिकारसमेतको आयोग चाहिन्छ । कानुन नभएर अध्यादेश ल्याएर भए पनि ठगी नियन्त्रण गरिनुपर्दछ’ उहाँले भन्नुभयो ।
दोस्रो विकल्पबारे उहाँको धारणा थियो– ‘हिनामिना भएको वचतकर्ताको रकम फिर्ता गर्न सहकारीबाट प्राप्त कर सङ्कलन गरेर एउटा कोष निर्माण गरिनुपर्दछ । तत्काल उक्त कोषबाट पीडितको रकम फिर्ता गर्ने, पछि दोषीबाट असुलउपर गरेर उक्त कोष परिपूर्ति गरिनुपर्दछ ।’
‘तेस्रो विकल्प यो हुनुपर्दछ, सहकारीको रकम अनुत्पादक क्षेत्रमा लगानी गरिनुहुँदैन’ उहाँले भन्नुभयो– ‘तत्कालका लागि बैङ्क तथा वित्तीय संस्थाले यस्ता क्षेत्रमा लगानी भएका ऋण सावा मात्र लिएर मिनाहा गरिदिनुपर्दछ ।’
उहाँले सहकारीमा परिवारको एकाधिकार भएको, सहकारी ठगलाई विदेश भाग्ने मौका दिइएकोमा त्यसलाई नियन्त्रण गर्न माग गर्नुभयो ।
अध्यक्ष केसीमा केही गरौँ भन्ने भावना थियो : डा. आचार्य
कार्यक्रममा मन्तव्य राख्दै सहकारीविद् डा. विश्वमोहन आचार्यले राजमो अध्यक्ष चित्रबहादुर केसी सहकारी तथा गरिबी निवारणमन्त्री हुँदा केही गरौँ भन्ने भावना रहेको स्मरण गर्नुभयो ।

अध्यक्ष केसीले सोही भावनाका साथ सहकारी ऐन अगाडि सारेको उहाँले बताउनुभयो ।
सहकारीमा तमाम विकृति विद्यमान रहेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘यतिखेर सहकारीको कुनै निश्चित क्षेत्र छैन । वचत तथा ऋण सहकारीमा बढी विकृति छ । बहुउद्देश्यीयको नाम देखाएर वचत तथा ऋण सहकारीका विकृति देखा परेको छ । सहकारी स्थापना हचुवाको भरमा गरिन्छ ।’
उहाँले सहकारी भनेको आफूले आफैलाई अनुगमन गर्ने अर्थतन्त्रको क्षेत्र रहेको बताउनुभयो ।
‘सहकारी लगानी गर्न सक्ने व्यक्तिले खोल्ने होइन’ उहाँले भन्नुभयो– ‘सहकारीको आदर्शअनुसार आफूलाई आवश्यक परपेको व्यक्तिले सहकारी खोल्ने हो ।’
उहाँले सहकारीमा कसका लागि भन्ने प्रश्नले धेरै महत्त्व राख्ने बताउनुभयो ।
२०४८ सालको सहकारी ऐन धेरै कमजोर : भुसाल
नेपाल सरकारका पूर्व उपसचिव बाबुराम भुसालले २०४८ सालको सहकारी ऐन धेरै कमजोर भएको बताउँदै सहकारी ठगी नियन्त्रण गर्न राजमो अध्यक्ष केसीको पहलमा नयाँ सहकारी ऐन ल्याउन खोजिएको बताउनुभयो ।

‘२०४८ सालको सहकारी ऐनले सहकारी ठगी गरेबापत १५०० रुपियाँ सजाय गर्दथ्यो’ उहाँले भन्नुभयो– ‘उक्त ऐनको यस्तो खुकुलोपनको फाइदा उठाएर २०५४ सालतिर बाटै सहकारी ठगी देखा परेको थियो ।’
उहाँले अहिले पनि सहकारीको ५२ अर्ब रुपियाँ कहाँ छ भन्न नसकिने बताउनुभयो ।
राजमो अध्यक्ष केसीसँग मिलेर सहकारीका विकृति नियन्त्रण गर्न प्रयास गरेको बताउँदै उहाँले भन्नुभयो– ‘हामीले राष्ट्र बैङ्कले नै सहकारीलाई नियमन गर्नुपर्ने, सहकारीका सदस्य प्राकृतिक व्यक्ति बन्नुपर्ने, कार्यक्षेत्र निश्चित हुनुपर्ने, गौरीबहादुर कार्कीको प्रतिवेदन लागु गर्नुपर्ने, गैरवित्तीय क्षेत्रका लगानी रोक्नुपर्ने, जोखिम कोषमा रकम जम्मा गर्नुपर्ने माग राखेका थियौँ ।’
उहाँले सहकारी निकायमा विज्ञ जनशक्ति राखिनुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।
न्याय नपाए चुनावमा गाउँ पस्न दिन्नौँ : केसी
अन्तरक्रियामा मन्तव्य राख्दै सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) अध्यक्ष उसलभ केसीले आफूहरूले न्याय नपाए आगामी चुनावमा राजनीतिक दलहरूलाई गाउँ पस्न नदिने बताउनुभयो ।

ॅहामी गत १४ महिनादेखि सडकमा छौँ । हाम्रो मागलाई कसैले गम्भीरतापूर्वक लिएको छैन । ८३ वर्षका राजमो अध्यक्ष केसी मात्रै हाम्रो मागमा ऐक्यबद्धता जनाउन आउनुभयो’ उहाँले भन्नुभयो– ‘हामीले सबै दल र नेताहरूका एक एक हिसाब राखेका छौँ । सहकारीपीडितका रकम फिर्ता भएनन् भने २०८१ को चुनामा नेताहरूलाई गाउँ पस्न दिने छैनौँ ।’
उहाँले सहकारी ठगीलाई कारबाही नहुँदासम्म र अपचलन भएको रकम फिर्ता नभएसम्म सडक आन्दोलन जारी रहने बताउनुभयो ।
‘आन्दोलनको पछिल्लो कार्यक्रमअनुसार गत ४४ दिनदेखि हामी शान्तिवाटिकामा धर्ना बसेका छौँ’ उहाँले भन्नुभयो– ‘पीडितहरू मरिरहेका छन् । हामीलाई न्याय चाहियो ।’
सहकारीपीडित केसीले भूतपूर्व सैनिकहरूले सहकारीमा आफ्नो पेन्सनको रकम जम्मा गरेको तर अहिले उक्त रकम फिर्ता नपाउँदा उपचारसमेत गर्न नपाएको बताउनुभयो ।










