बाँके नेपालगंज । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । हरेक बर्ष जस्तै यस बर्ष पनि नेपालगंज शान्तिनगर ९–१३ मा नवमीको दिन कन्या पूजा र प्रसाद बितरण समेत गरिएको नेपालगंज नपा १३ शान्तिनगर निवारी तथा पूजा समितीका सदस्य कृष्ण प्रसाद अधिकारी ले जानकारी गराउनु भयो ।
यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।
ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति नेपालगंज शान्तिनगर ९–१३ का अध्यक्ष ईतवारी कहारले बताए ।
घटस्थापनाको दिनदेखि स्थापना गरिएका मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोलिपल्ट अर्थात् आज सेलाइने परम्परा रहेको पण्डित राम सुन्दर पाठकले बताउनुभयो । उहाँका अनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुति गरी पूजापाठ सकिन्छ ।
मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले आज बिहान १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले बाँकेमा करिब छ सय भन्दा बढि दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताए ।












