काठमाडौं — सफल व्यवसायी लायन मिलन बाबु मल्ल लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालका नयाँ गभर्नरमा निर्वाचित भएका छन्।
काठमाडौं स्थित राष्ट्रिय सभागृहमा आयोजित तेस्रो डिष्ट्रिक्ट कन्भेन्सनबाट उनी आगामी लायन वर्ष (२०२५–२०२६) का लागि बहुमत सहित निर्वाचित भएका हुन्। निर्वाचनपछि गभर्नर मल्लले भने, “सामाजिक सेवा नै हाम्रो धर्म हो। म आफ्नो कार्यकालमा ‘एक अर्कालाई सम्मान गरौं’ भन्ने मूल नारासहित सबै क्लबहरूलाई सहकार्यमा जोडेर अघि बढ्नेछु।” उनले लायन्स डिष्ट्रिक्टलाई अझ सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन ध्रुव बहादुर थापा, फस्ट भाइस गभर्नरमा लायन प्रजापती बाँस्तोला र सेकेन्ड भाइस गभर्नरमा लायन कुश प्रसाद मल्ली निर्वाचित भए। त्यसै गरी क्याबिनेट सेक्रेटरीमा लायन पुरुषोत्तम बस्नेत मनोनित हुनुभएको थियो ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रमुख अतिथिका रूपमा बोल्दै लायन्स क्लबले नेपालमा पुर्याउँदै आएको सामाजिक सेवाको खुलेर प्रशंसा गरे। त्यस्तै, विशेष अतिथि महानायक राजेश हमालले भने, “हामी प्रत्येकले आफ्नो क्षमताले कम्तिमा एकजनाको अनुहारमा मुस्कान ल्याउने प्रयत्न गर्नुपर्छ।”
डिष्ट्रिक्ट ३२५ जे नेपालका हालका गभर्नर लायन मिलन थापाले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सामाजिक सेवा क्षेत्रमा निरन्तर उत्कृष्टता कायम राख्न आग्रह गरिन्।
कन्भेन्सनमा लायन बोध बहादुर राउतक्षेत्री र सगरमाथा आरोहण गर्ने लायन विष्णु प्रसाद भुसाललाई सम्मान गरिएको थियो। कार्यक्रममा ७०० भन्दा बढी लायन्स लिडरहरूको उपस्थिति रहेको र आयोजनाको जिम्मेवारी लायन्स क्लब अफ काठमाडौं बनस्थलीले लिएको डिष्ट्रिक्टका पीआरओ इन-चिफ लायन रामराजा थापाले जानकारी दिए।










