काठमाडौँ, १८ वैशाख — राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन्।
विश्व मजदुर दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे।
“स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,” राष्ट्रपति पौडेलले सन्देशमा भने, “श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु।”
उनले श्रमिक दिवसले विश्वभरका श्रमजीवीहरूलाई हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारी र श्रमको हक सुनिश्चित गरेको उल्लेख गर्दै समान कामका लागि लैङ्गिक आधारमा कुनै भेदभाव नगरिने व्यवस्था संविधानले गरेको स्पष्ट पारे।
“लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु,” उनले भने, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ।”
राष्ट्रपतिले मर्यादित श्रमको वातावरण निर्माण गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
“उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुन्छ,” उनले भने।
हरेक वर्ष मे १ तारिखमा मनाइने विश्व मजदुर दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार स्थापनाको दिनका रूपमा मनाइँदै आएको छ।









