१८ वैशाख,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी सम्पूर्ण सेवा आम नागरिकको पहुँचमा पुर्याउन आवश्यक रहेको बताएका छन्।
एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारमा देखिएको चुनौतीलाई नियन्त्रण गर्नुपर्नेमा पनि जोड दिए।
प्रधानमन्त्री ओलीले ‘श्रमसंसार पोर्टल’को शुभारम्भ गर्दै उक्त प्रणालीलाई नागरिकको पहुँचमा पुर्याउन निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “श्रम बजार विकासका लागि तालिम, उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा जस्ता सेवा जनताको घरदैलोमा पुग्नुपर्छ। सबै नेपालीले सजिलै सेवा पाउनुपर्ने हो।”
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्रीले डिजिटल अर्थतन्त्रको विकास र ज्ञानमा आधारित समाज निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।
उनका अनुसार श्रम बजार सूचना प्रणाली निर्माण र त्यसका आधारमा नीति निर्माण प्रक्रिया अघि बढाइएको छ। आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक बनाउने रणनीतिमा सरकार जुटिरहेको पनि उनले जानकारी दिए।
शुभारम्भ गरिएको श्रमसंसार पोर्टल श्रम तथा रोजगार सेवाको एकीकृत विनिमय प्रणाली हो। यसबाट श्रमिक, रोजगारदाता र सेवाप्रदायकबीचको दूरी घटाउने, प्रक्रियागत झन्झट कम गर्ने तथा सीपयुक्त जनशक्ति विकासमार्फत राष्ट्रलाई समृद्धितर्फ लैजान सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।









