जेन–जेड आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौंको थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता तथा निर्माता दीपकराज गिरीले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
गिरीले आफ्नै जन्मथलो काठमाडौंको थानकोट प्रहरी वृत्त पुगेर डीएसपी एलिजा गिरीलाई उक्त सहायता रकम हस्तान्तरण गरेका हुन् । आगजनी र तोडफोडका कारण करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा गिरीले प्रहरीको मनोबल उच्च राख्न र समुदायको सुरक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरेको बताए ।
यसैबीच, उनी अर्को साता अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा टूर’मा सहभागी हुन प्रस्थान गर्ने तयारीमा रहेका छन् । दहचोक–१ निवासी गिरी नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार, अभिनेता तथा निर्देशकका रूपमा परिचित छन् ।









