जनकपुरधाम , धनुषा ।नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन भएको छ। जनकपुरधाममा सम्पन्न नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनबाट रामेछाप जीसीजका युवा नेता जेसी जीवन बहादुर कार्की नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्।
चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धात्मक निर्वाचनमा कार्की स्पष्ट बहुमतसहित विजयी भएका हुन्। १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको नेपाल जेसीज आन्दोलनको नेतृत्व अब कार्कीको काँधमा आएको छ।
साधारण पारिवारिक पृष्ठभूमिबाट उठेर सफल व्यवसायीका रूपमा स्थापित कार्कीले नेपाल तथा अन्तर्राष्ट्रिय तहका विभिन्न तालिम र एकेडेमीहरूमा सहभागिता जनाउँदै नेतृत्व विकासमा आफूलाई सशक्त बनाउँदै आएका छन्। विगतमा सम्हालेका जिम्मेवारीहरूमा उनले कठिन परिस्थितिमा समेत कुशल नेतृत्व र व्यवस्थापन क्षमता प्रमाणित गरिसकेका छन्।
नव निर्वाचित अध्यक्ष कार्कीले वर्ष २०२६ का लागि ‘Aim, Act, Achieve’ लाई मुख्य कार्यदिशाका रूपमा अघि सारेका छन्। लक्ष्यबिनाको सक्रियताबाट उपलब्धि सम्भव नहुने उल्लेख गर्दै उनले योजनाबद्ध कार्यान्वयन र ठोस परिणाममा केन्द्रित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको नेतृत्वको प्रमुख कार्यक्रम ‘Project Sankalpa 2026’ रहेको छ, जसको मूल उद्देश्य एकताको संकल्प र रूपान्तरणको यात्रा हो। उक्त परियोजनामार्फत नेपाल जेसीज अभियानलाई समाजमा अझ प्रभावकारी र दिगो बनाउने लक्ष्य राखिएको छ।
यसैगरी, निर्णय प्रक्रिया अनुमानमा होइन, डाटामा आधारित प्रणालीमार्फत अघि बढाइने जनाइएको छ। सदस्य केन्द्रित सेवाका लागि ‘Hello Jaycees’ प्लेटफर्म सञ्चालन गरिनेछ, जसबाट सदस्यका गुनासा, सुझाव र आवश्यकताहरू सिधै सुन्ने र समाधानतर्फ अघि बढ्ने व्यवस्था गरिनेछ।
कार्यक्रमअन्तर्गत MIS Upgrade, AI Integration, Cyber तथा Digital Safety Training लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।
नेपाल जेसीजको २०२६ को नेतृत्वबाट युवामैत्री, प्रविधिमैत्री र परिणाममुखी अभियान अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।










