१३ पौष, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
महासचिव मनोज भट्टको नेतृत्वमा कान्तिपथस्थित आयोगको कार्यालय पुगेको राजमोको टोलीले बन्दसूची दर्ता गराएको हो। महासचिव भट्टका अनुसार ५० प्रतिशत महिलासहित कुल ११० जनाको बन्दसूची आयोगमा बुझाइएको छ।
नियमावलीअनुसार खस–आर्य ३३ जना (३०.२८ प्रतिशत), आदिवासी जनजाति ३२ जना (२८.७२ प्रतिशत), मधेसी १८ जना (१६.१५ प्रतिशत), दलित १५ जना (१३.४४ प्रतिशत), थारू ७ जना (६.५ प्रतिशत) र मुस्लिम ५ जना (४.८० प्रतिशत) गरी ११० जनाको बन्दसूची बुझाइएको उहाँले जानकारी दिनुभयो।
बन्दसूची बुझाउन राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, केन्द्रीय सदस्य सुधार पौडेलसहित हरिकान्त शर्मा, गोविन्दकुमार शर्मा, धनवीर पुन र मदन शर्मा पनि आयोग पुगेका थिए।
निर्वाचन आयोगका अनुसार आज समानुपातिक बन्दसूची बुझाउने दलहरूमध्ये राष्ट्रिय जनमोर्चा तेस्रो क्रममा रहेको छ। आयोगले पुस १७ गते उक्त नामावलीमाथि जाँचबुझ गर्ने जनाएको छ।










