काठमाडौं । सरकारले नगद कारोबारमा कडाइ गरेको छ । ५ लाख रुपैयाँभन्दा बढीको भुक्तानी अब नगदमा गर्न नपाइने भएको छ । सोभन्दा बढी रकमको भुक्तानी गर्दा अनिवार्य रूपमा अकाउन्टपेयी चेक वा बैंकिङ माध्यम प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हो ।
कालोधन नियन्त्रण, कर छली रोकथाम तथा वित्तीय पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको सरकारको भनाइ छ । नेपाल राष्ट्र बैंकको सिफारिसमा अर्थ मन्त्रालयले नगद कारोबारलाई निरुत्साहित गर्ने नीति अघि बढाएको हो ।
नयाँ व्यवस्थाअनुसार व्यापारिक कारोबार, सेवा शुल्क, खरिद–बिक्री, ठेक्का तथा अन्य आर्थिक लेनदेनमा ५ लाख रुपैयाँभन्दा बढी रकम भएमा नगद भुक्तानी गर्न पाइने छैन । नियम उल्लंघन गरी नगद कारोबार गरेको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।
सरकारको यो निर्णयले बैंकिङ प्रणालीमार्फत हुने कारोबार बढ्ने, आर्थिक गतिविधि पारदर्शी हुने तथा अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









