
— खेम राज अधिकारी
स्तम्भन्युज खबर
चैत्र ९, काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित लागार्डिया विमानस्थल मा अवतरणका क्रममा यात्रुवाहक जहाज दमकलसँग ठोक्किँदा गम्भीर दुर्घटना भएको छ।
एयर क्यानडाको विमानले अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार राति करिब ११:४० बजे विमानस्थलको रनवेमा रहेको उद्धार तथा अग्निनियन्त्रण सवारीसँग ठोक्किएको अधिकारीहरूले जनाएका छन्।
दमकलमा रहेका दुई जना पनि घाइते भए पनि उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ। एउटा अन्य उडानले ककपिटमा अनौठो गन्ध आएको भन्दै सहयोग मागेपछि दमकल रनवे पार गर्दै त्यहाँ जाँदै गर्दा अवतरण गरिरहेको विमानसँग ठोक्किएको सिएनएनले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एयर क्यानडा एक्सप्रेसको जहाज रनवेमा अवतरण गर्ने क्रममा आपतकालीन सेवामा खटिएको दमकलसँग ठोक्किएको हो। उक्त जहाजमा करिब ७२ यात्रु र ४ जना चालकदल सदस्य सवार रहेका थिए।
दुर्घटनामा जहाजका पाइलट र सह–पाइलटको ज्यान गएको पुष्टि भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। दमकलमा सवार सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्।
प्रारम्भिक विवरणअनुसार दमकल अर्को आपतकालीन घटनामा प्रतिक्रिया जनाउन रनवेमा प्रवेश गरेको समयमा जहाज अवतरणको क्रममा थियो। समन्वयमा कमजोरी वा सञ्चार त्रुटिका कारण दुर्घटना भएको आशंका गरिएको छ।
दुर्घटनापछि विमानस्थल केही समयका लागि पूर्ण रूपमा बन्द गरिएको थियो भने सयौँ उडानहरू प्रभावित भएका छन्। घटनाबारे फेडरल एभिएसन एडमिनिस्ट्रेशन र अन्य निकायले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन्।









