
— खेम राज अधिकारी
स्तम्भन्युज खबर
चैत्र ११, काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा आन्दोलनका क्रममा भएको घटनाक्रम, सुरक्षाकर्मीको भूमिका तथा निर्णय प्रक्रियाबारे विस्तृत विश्लेषण गरिएको छ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।
बालेनको बयान यस्तो छ :
“२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिए । २३ गतेको शान्तिपूर्ण रैलीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाए । मेरो सामाजिक संजालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो । जनधनको रक्षाको लागी सामाजिक संजाल मार्फत संयमता अपनाउन अपिल गरेको थिए । घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरुसँग समन्वय गरी घाइते र मृतकहरुको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते का.म.न.पा ले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो । सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाँडौ महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछी विरोधस्वरुप Metaphor को रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा “जलाई दिन्छु” शब्द प्रयोग भएको थिएन । “
प्रतिवेदनअनुसार आन्दोलनका क्रममा बल प्रयोग, आदेश श्रृंखला तथा सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको निष्कर्ष निकालिएको छ। आयोगले विशेषगरी आन्दोलन नियन्त्रणका क्रममा अपनाइएको रणनीति र त्यसले उत्पन्न गरेको क्षतिको जिम्मेवारी उच्च तहसम्म पुग्ने संकेत गरेको छ।
यसैबीच, प्रतिवेदन सार्वजनिक भएसँगै राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक बहस सुरु भएको छ। सिफारिसअनुसार अब सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
तलको ९०७ पेजको PDF File साभार



















