जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडेको कमला नदीमा विशाल कार्तिक पूर्णिमा मेला लागेको छ ।
कमला नदीमा आज बिहानैदेखि स्नान गर्ने श्रद्धालु, भगता र धामीझाक्रीहरुको घुइँचो लागेको हो ।
कमला नदीलाई गंगा सरह मानिन्छ । यहाँ कार्तिक पूर्णिमाको दिन स्नान, दान र व्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । सृष्टिको आरम्भदेखि नै यो दिनको खास महत्त्व रहेको छ । त्यसैले आजको दिन कमला स्नान गर्न गाउँगाउँबाट लाखौं मानिस उर्लिएका छन् । धामीले लोक भाकामा ‘महराई’ गाउँछन् । ‘महराई’ एक मन्त्र हो । मिर्दङ-मादल, झ्याली, ढोल र पिपही जस्ता बाजाको तालमा धामीले ‘महराई’ गाएपछि भगताको शरीरमा घरमा पूजिने कूलदेउता आउने मान्यता छ । तराई/मधेशका प्रायः हरेक हिन्दूले घरमा कूलदेवता पूज्छन् ।

देवतालाई घरका एकजना जो शुद्धि प्राप्त गरेका हुन्छन्, उसले मात्र पूजा गर्छन् । यदि देउता पूजने घरको व्यक्ति अशुद्ध भयो वा निधन भयो भने परिवारकै अर्का व्यक्तिको शरीरमा देउता आउन थाल्छ । देउता आउन थालेपछि कार्तिक पूर्णिमाकै दिन धामीको साहारामा शुद्धि प्राप्त गरिन्छ ।
शुद्धि प्राप्त गर्ने व्यक्तिलाई भगता भनिन्छ । धामीले कमलामा स्नानअघि भगतालाई ुसतबैदु अर्थात् शपथग्रहण गराउँछन् । पुरुष भगता पहेँलो धोती र महिला भगता पहेँलो रातो सारीमा सजिएका हुन्छन् । उनीहरु हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा कराउँछन् । भूत जस्तै हाउभाउ देखिने हुँदा ‘पूर्णिमा मेला’लाई भूत मेला भन्न थालिएको छ । सर्वसधारणले कमला नदीमा स्नान गर्दै कमलेश्वरी मातासंग घर-परिवारको रक्षा, सुख शान्ति र समृद्धिको कामना गर्छन् । कतिपयले मनोकामना पुरा भएको भन्दै बोकाको बली समेत चढाउँछन् । प्रायः व्यक्तिले झाप, लड्डु र फलफूल समेत चढाउँदै पूजापाठ गरेका छन् ।

कमला नदीमा स्नान गरेका सर्वसाधारण र सिद्धि प्राप्त गरेका भगता तथा धामीहरु नदीको तटमा दहीच्युरा खाने गर्छन् । यहाँको पानी कतिपयले घर लैजाने गर्छन् । कुनै पनि शुभ कार्य गर्नुअघि कमलाको पानी छर्किएपछि शुद्ध हुने जनविश्वास छ ।
Facebook Comments Box









