काठमाडौं, भदौ २५ । जेन-जीन आन्दोलन चर्किएसँगै काठमाडौं उपत्यकामा नेपाली सेनाले सडक गस्ती तीव्र पारेको छ। मंगलबार राति १० बजेदेखि सुरक्षा व्यवस्थाका लागि सेना परिचालन भएपछि आज बिहानदेखि सेनाको उपस्थिति राजधानीका प्रमुख सडक र गल्लीहरूमा देखिएको छ।
सेनाले घरबाहिर निस्किएका सर्वसाधारणलाई “विना काम बाहिर ननिस्कनुहोस्” भन्दै घर फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्न चिकित्सक, पत्रकार, सुरक्षा निकायका कर्मचारी लगायतलाई भने परिचयपत्रका आधारमा आवाजाही गर्न अनुमति दिइएको छ।
आन्दोलनकारीहरूले मंगलबार संसद भवनमा समेत आगजनी गरेपछि सेनाले त्यहाँ प्रवेशमा पूर्ण रोक लगाएको छ। साथै अन्य सरकारी तथा संवैधानिक निकायहरूको सुरक्षा कडाइ गरिएको छ।
सुरक्षा निकायले अवस्था संवेदनशील रहेको भन्दै आवश्यक परे थप कडा कदम चालिने चेतावनी दिएको छ। राजधानीका नागरिकलाई घरभित्र सुरक्षित बस्न आग्रह गरिएको छ।









