सुरेन्द्र सुवेदी
३० माघ,काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेलाको तयारी पूरा भएको छ ।
२०७८ सालदेखि शुडखलाबद्ध रुपमा वृति मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको हाे।
शिक्षा, सिप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न लागिएकाे मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको नगर प्रमुख मिठ्ठाराम अधिकारीले बताए ।
नगर उपप्रमुख अनिता लामाले तेसो वृति मेलामा समेत रोजगारी एवं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको बताईन्।
रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याईएको छ।
शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्यालनमा ल्याइएको छ।

सयौँको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरुबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ। यस अघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको पत्रकार सम्मेलनमा जानकारी गराएकाे छ ।
आयोजक समितिमा नगर स्तरीय उद्योग वाणिज्य संघका साथै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समेत समावेश गरिएको छ। निजी क्षेत्रलाई मेलामा स्वःस्फूर्त सहभागिता गराउन विभिन्न चरणमा छलफल गराउनुको साथै उद्यम तथा व्यवसायको घरदैलोमा गई मेलामा सहभागीताका लागि प्रोत्साहन गरिएको छ।
मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ। मेलामा कुल ४२ वटा स्टल रहने र उक्त ४२ स्टल मध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवर्द्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहने छन् ।
यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजार भन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनी बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।
मेलालाई पूर्ण रुपमा सफल बनाउन विभिन्न उपसिमिति गठन गरी क्रियाशील बनाइनुका साथै नगरपालिका भित्रका बेरोजगार युवाहरुलाई यस मेला मार्फत दिगो रोजगारीमा जोड्ने अभिष्ट राखी बेरोजगार युवाहरुको तथ्याङक सङकलन कार्यलाई समेत यस वर्ष पनि निरन्तरता दिइएको छ।
यस नगरपालिकामा स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवालाई यही माघ मसान्त भित्र अनलाइन मार्फत वा सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न नगरपालिकाले आव्हान गरेको छ।
यस रोजगार तथा वृत्ति मेलामा बुढानीलकण्ठ नगरपालिकामा दर्ता रहेका दश हजार व्यावसायिक फर्महरुलाई मेलामा आमन्त्रण गरिएको छ। मेलामा कम्तिमा १०० जनालाई मेला अवधिमा नै रोजगारीमा जोड्ने, २०० जनालाई इन्टर्नका लागि तयार गर्ने, १५० जनाका लागि साइकोमेट्रिक टेष्ट, औद्योगिक प्रशिक्षार्थी स्किल कम्पिटिसन, विद्यार्थीका अभिभाबकलाईसमेत करियर सम्बन्धी काउन्सेलिङ, १०० जना युवालाई सिंगल काउन्सेलिङ, ४०० जना युवाहरुलाई सामुहिक काउन्सेलिङ लगायतका कार्यक्रम राखिएको छ।
नगरपालिकाको परिसरमा यही फागुन २ गते बिहान ९:०० बजे नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय
बुढानीलकण्ठ नगरपालिकाको कार्यालय परिसरमा आयोजना हुन गइरहेको यस कार्यक्रममा बागमती प्रदेशको शैक्षिक तालिमः केन्द्र, धुलिखेलको आर्थिक सहयोग र हेल्भिटास इन्स्योर परियोजनाको प्राविधिक सहयोग रहेको छ।









