९ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडमा करिब ८६ लाख रुपैयाँ हिनामिना भएको छ।
सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा रू ८५ लाख ८० हजार ७५५ रकम हिनामिना भएको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार सहकारीको रकम हिनामिनासम्बन्धी कसुरमा जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता भएपछि प्रतिवादी सुरेश चौधरी (कुर्मी), वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी (कुर्मी) जनही पाँच लाख धरौटीमा तारेखमा बसेका छन्।
तर, सहकारीका अध्यक्ष राजकिसोर गुप्ता (तेली), उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव अझै अदालतमा हाजिर भएका छैनन्।
जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालका अनुसार अदालतले उनीहरूलाई पक्राउ पुर्जी सहित ३५ दिनभित्र उपस्थित हुन पत्र पठाएको छ। हालसम्म तीन जना मात्र हाजिर भएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी काशीराम लोधले जानकारी दिए।
उनका अनुसार सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दा दाङको देउखरीमा रहेको राप्ती उपत्यकास्थित सहकारी कार्यालयमा दर्ता भएको मुस्तफा शेखको जाहेरीका आधारमा नेपाल सरकार वादी बनेर दर्ता गरिएको हो।
सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार यस्तो किसिमको हिनामिनामा संलग्न ठहरिएमा बिगो बराबरको जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।









