९ बैशाख ,काठमाडौं । भक्तपुरका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न तीन जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूमा सुनसरी धरान घर भई भक्तपुर ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का २६ वर्षीय दावा शेर्पा तथा मध्यपुर ठिमी नगरपालिका–६ का २७ वर्षीय रोजन थापा रहेका छन्।
ट्राफिक प्रहरीले साजनलाई कागेश्वरी मनोहरा नगरपालिका–७ मा वास्तविक नम्बर बागमती प्रदेश ०२-०३७ प २४०७ रहेको स्कुटरको नम्बर परिवर्तन गरी ०२-०४० प ०५२४ राखी चलाएको अवस्थामा फेला पारेको हो। उक्त स्कुटर सलिना कार्कीको रहेको खुलेपछि साजन र दावाले मिलेर स्कुटर बिक्रीको योजना बनाएको थाहा पाएपछि दावालाई पनि नियन्त्रणमा लिइएको हो।
दावासँगको बयानका आधारमा स्कुटर रोजन थापाबाट लिएको खुलेपछि प्रहरीले रोजनलाई पनि पक्राउ गरेको छ। रोजनको बयानअनुसार चोरीको स्कुटर नलिनचोक निवासी २७ वर्षीय सुजन गुरुङले दिएको खुलेको छ।
पक्राउ परेका तिनै जनाको बयानपछि प्रहरीले सुजन बस्दै आएको स्थानबाट काठमाडौंको सानोगौचरणबाट हराएको बा ६६ प ८७८५ नम्बरको अर्को स्कुटरसमेत बरामद गरेको छ।
स्कुटर हराएको सम्बन्धमा विकास लामाले ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। मुख्य योजनाकार मानिएका सुजन गुरुङ भने हाल फरार छन् र उनको खोजी जारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको छ।









