१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB) ले आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा ग्राहकको Know Your Customer (KYC) विवरण अद्यावधिक गर्ने प्रक्रिया सरल बनाउने व्यवस्था गरिएको छ।
अब बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको KYC विवरण राष्ट्रिय परिचयपत्र प्रणाली (National ID System) मार्फत पहुँच गर्न सक्नेछन्।
अघिल्लो व्यवस्था अनुसार, ग्राहकहरूले जति बैंकमा खाता खोल्थे, त्यति बैंकमा छुट्टाछुट्टै KYC फारम बुझाउनुपर्ने बाध्यता थियो। यसले धेरैजसो ग्राहकहरूमा असन्तुष्टि निम्त्याएको थियो। यिनै गुनासोलाई ध्यानमा राख्दै राष्ट्र बैंकले नयाँ सुधारात्मक नीति ल्याएको हो।
मौद्रिक नीतिमा भनिएको छ:
“बैंक, वित्तीय संस्था तथा अन्य वित्तीय सेवा प्रदायकहरूले ग्राहकहरूको KYC विवरण राष्ट्रिय परिचयपत्रमार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ। कुनै एक बैंकमा अद्यावधिक गरिएको जानकारी अन्य संस्थाहरूले विद्युतीय माध्यमबाट पहुँच गर्न सक्नेछन्।”
नयाँ प्रणाली अनुसार, एक पटक कुनै पनि बैंकमा KYC विवरण अद्यावधिक गरेपछि अन्य स्वीकृत संस्थाहरूले सो विवरण केन्द्रीय संरचना (centralized infrastructure) मार्फत पहुँच गर्न सक्नेछन्।
त्यस्तै, ग्राहकले आफ्नो विवरण बुझाएपछि एक विशेष पहिचान नम्बर (Unique ID Number) प्रदान गरिनेछ। जसको आधारमा अन्य वित्तीय संस्थाहरूले आवश्यक व्यक्तिगत विवरण केन्द्रीय KYC प्रणाली मार्फत प्राप्त गर्न सक्नेछन्।
यस व्यवस्थाबाट ग्राहकहरूलाई बारम्बार फारम बुझाउने झन्झट हट्नेछ र वित्तीय प्रणाली अझ आधुनिक तथा सुलभ बन्नेछ।
- स्रोत — खेम राज अधिकारी








