काठमाडौं, साउन ३१ । भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई अड्डासार गरी ललितपुरस्थित नख्खु कारागारमा भर्ना गरिएको छ। उनलाई ‘सीआरसी’ ब्लकमा राखिएको छ, जहाँ करिब ४ सय कैदीबन्दी बस्दै आएका छन्।
कारागार स्रोतका अनुसार, लामिछानेलाई सो ब्लककै एउटा छुट्टै कोठामा राख्ने तयारी भइरहेको छ। नख्खु कारागारको आन्तरिक प्रशासन कैदीबन्दीले नै चलाउने भएकाले व्यवस्थापन उनीहरूले गर्नेछन्।
नख्खु कारागारका एक अधिकारीले जानकारी दिँदै भने, “अरु कैदीबन्दीलाई जसरी सुविधा दिइन्छ, उहाँलाई पनि त्यस्तै सुविधा प्रदान गरिनेछ। संरचनात्मक हिसाबले पनि भैरहवा भन्दा यहाँ सहज र सुरक्षित छ।”
लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाको लागि निवेदन दिएका थिए। अदालतले जेठ १६ गते नै सरुवाको अनुमति दिए पनि अड्डासार तत्काल हुन सकेको थिएन। पछि गृह प्रशासनले निर्णय गर्दै उनलाई नख्खु कारागार ल्याउने प्रक्रिया अघि बढाएको हो।
आज साँझ उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको हो। नख्खु कारागारमा पुर्याउँदा समर्थकहरूको भीड देखिएको थियो।
यसअघि यही ब्लकमा रौतहट बम विष्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो। अदालतले आलमलाई सफाइ दिएपछि उनी थुनामुक्त भएका थिए।









