काठमाडौं, भदौ २४ । काठमाडौं उपत्यकामा जारी प्रदर्शनको क्रममा मंगलबार कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि देशभर आक्रोश फैलिएको छ। राजधानीसहितका विभिन्न शहरमा विरोध प्रदर्शन चर्किँदै गएको छ। यही क्रममा प्रदर्शनकारीहरूले सरकारी संरचनामाथि आक्रमण बढाएका छन्।
प्रत्यक्षदर्शीका अनुसार मंगलबार दिउँसो ठूलो संख्यामा प्रदर्शनकारी नगरपालिकाको भवन अगाडि जम्मा भएका थिए। केही समयमै उनीहरूले ढुंगामुढा र तोडफोडपछि भवनमा आगो लगाएका हुन्।
जेनजी आन्दोलनका क्रममा हालसम्म राजधानीलगायत देशका विभिन्न भागमा नेताहरूको निवास र कार्यालयमा समेत तोडफोड र आगजनी भएको रिपोर्टहरू आएका छन्। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि प्रदर्शन थप चर्किँदै गएको छ।









