१९ असाेज,काठमाडौं । जेनजेड आन्दोलनका क्रममा कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले पदभार सम्हाले लगत्तै काठमाडौं कारागारहरूबाट फरार भएका कैदीबन्दीहरूलाई खोजतलास गरी पक्राउ गर्ने विशेष अभियान सुरु गरेका थिए। सोही अभियान अन्तर्गत प्रहरी टोलीले शर्मालाई ललितपुरको बकुण्डोलबाट पक्राउ गर्न सफल भएको हो।
यसअघि काठमाडौं प्रहरी परिसर प्रमुख हुँदा कार्कीले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँड, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केसव दुलाल र सानु भण्डारीलगायतका अभियुक्तलाई अनुसन्धान गरी अदालतमा मुद्दा चलाएका थिए।
संयोगवश, कार्की एआईजी बनेर काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हाले लगत्तै केसव दुलाल, सानु भण्डारी, टेकनारायण पाण्डेपछि मुख्य अभियुक्त सन्देश शर्मासमेत पक्राउ परेका छन्।









