काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै दुई जना उम्मेदवार र एक राजनीतिक दललाई २५–२५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ। आयोगका कानुन अधिकृत मोहन जोशीका अनुसार उजुरी र छानबिनका आधारमा उक्त निर्णय गरिएको हो।
शक्ति बस्नेत (जाजरकोट–१) लाई निर्वाचन क्षेत्रमा पैसा बाँडेको उजुरीका आधारमा २५ हजार रुपैयाँ जरिबाना गरिएको हो। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हुन्।
त्यस्तै, रुपन्देही–२ का उम्मेदवार डा. कमल भुसाल (निकोलस) लाई पनि २५ हजार रुपैयाँ जरिबानाको निर्णय गरिएको आयोगले जनाएको छ। भुसाल नेपाल जनसेवा पार्टीका उम्मेदवार हुन्।
यसैगरी, श्रम संस्कृति पार्टीलाई पनि २५ हजार रुपैयाँ जरिबाना तोकिएको छ। उक्त पार्टीको नेतृत्व हर्क साम्पाङले गर्दै आएका छन्।
उता भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठक र बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनुवारलाई भने आयोगले सचेत गराउने निर्णय गरेको छ।
आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न सबै उम्मेदवार तथा राजनीतिक दललाई आग्रह गर्दै उल्लंघन दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ।









