काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २० मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवा रहेका छन्।
बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
२०८० चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान शुरु भएकोमा उक्त मितिदेखि सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले असार १७ गते बारा, ललितपुर र भक्तपुरका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुनिल महर्जनले २०६५ सालमा श्री नरसिंह सहकारीको सदस्यको रुपमा ४ वर्ष काम गरेका थिए भने २०७० सालदेखि हालसम्म सुयोगको अध्यक्ष रहेका थिए।
उनीविरुद्ध २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार प्रतिवादी देखिएको पाइएको छ।
यस्तै, अर्पण कवा हाल इवामुरा कलेज, भक्तपुरमा प्रशासन शाखामा कार्यरत रहेको बुझिएको छ।
प्रहरीका अनुसार सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुल्चोकका बचतकर्ताहरू अन्दाजी १२०० जना रहेका छन् भने सहकारी संस्थाको जम्मा निक्षेप अन्दाजी ४५ करोड रुपैयाँ रहेको छ।
पक्राउ परेका सञ्चालक तथा व्यवस्थापकलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ।









