बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच असार १७ गते राति भएको ७ बुँदे सहमती सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।
प्रगतिशील पत्रकार संघ नेपालले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले यस्तो माग गर्नुभएको हो ।
‘रातारात गरेको ७ बुँदे सहमतीमा के के छ जनतालाई जानकारी गराउनुपछ’ केसीले भन्नुभयो, ‘जनताको आँखामा छारो हालेर देशलाई कमाइ खाने भाँडो बनाउन पाइँदैन ।’
छलछामको राजनीतिले राम्रो सन्देश नदिने बताउँदै केसीले कांग्रेस र एमालेको बीचमा भएको ७ बुँदेमा संविधान संशोधन गरेर प्रदेश हटाउने सहमती भए राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गर्ने बताउनुभयो ।
अध्यक्ष केसीले प्रधानमन्त्री केपी ओलीलाई आफूले विश्वासको मत नदिने पनि स्पष्ट पार्नुभएको छ । ओलीले
आइतबार (साउन ६ गते) प्रतिनिसभाबाट विश्वासको मत लिँदैछन् ।
सरकारले गरेका राम्रा कामको सर्मथन गर्ने र नराम्रा कामको विरोध गरिने बताउँदै केसीले सरकार चलाउनेहरूको चरित्र र व्यवहार गतिलो नभएकाले सरकारलाई विश्वासको मत नदिने स्पष्ट दोहोर्याउनुभयो ।
उहाँले कांग्रेस र एमाले गठबन्धनको सरकार कहिलेसम्म टिक्छ अहिले केही भन्न नसकिने बताउँदै दुवै पार्टीका नेताहरुको चरित्र र व्यवहार उस्तै भएकाले यसै भन्न नसकिने बताउनुभयो ।
संविधान विपरित संसद विघटन गर्नु गलत भएको केसीको भनाइ थियो । उहाँले प्रतिगमन दोहोरिने खतरा रहेको आशंका पनि गर्नुभयो । सत्ता चलाउँदै आएका दलका नेताहरूको गल्तीका कारण लोकतन्त्र, गणतन्त्रको स्थायित्व हुन नसकेको केसीले बताउनुभयो।
दलका नेताहरू सत्ता र पदमा केन्द्रित भएकै कारण राजनीतिक दल, लोकतन्त्र र गणतन्त्रप्रति जनतामा वितृष्णा पैदा भएको केसीको भनाई थियो ।
नेपाल जस्तो सानो भूगोल र आर्थिक रुपले कमजोर देशमा संघीय प्रणाली नचल्ने बताउँदै उहाँले छिटो भन्दा छिटो प्रदेश संरचना खारेज गर्नुपर्ने बताउनुभयो ।
केसीले सत्ता र शक्तिका लागि लागि विदेशीसँग झुकेर जस्तो सुकै काम गर्ने दल र नेताहरूप्रति खबरदारी गर्न मिडियाकर्मीसँग आग्रह पनि गर्नुभयो ।
प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र रुपन्देही अध्यक्ष वीरेन्द्र कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।









